स्कारपियोसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

माघ ४- विराटनगर,  मोरङको सुन्दरहरैँचा नगरपालिकामा बुधबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बेलबारी नगरपालिका–२ बस्ने २२ वर्षीय रूपक घिमिरे रहेको राजमार्ग सुरक्षा तथा कोशी प्रदेश ट्राफिक कार्यालय इटहरीले जनाएको छ।

गएराति १२:१५ बजेतिर पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुन्दरहरैँचा–८ पाथीभरा मन्दिर नजिक मोटरसाइकल र स्कारिपयो एक–आपसमा ठोक्किएका थिए।

बेलबारीबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ च ९६३२ नम्बरको स्कारपियो र इटहरीबाट विराटचोकतिर जाँदै गरेको प्रदेश १–०२–०४६ प २५२ नम्बरको मोटरसाइकल एक–आपसमा जुधेका थिए।

जसमा मोटरसाइकल चालक घिमिरे टाउकोमा चोट लाग्न गई गम्भीर घाइते भएका थिए। उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचारका क्रममा राति १:४५ बजे मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ।

स्कारपियो चालक झापाको कन्काई नगरपालिका–१ का अन्दाजी ३० वर्षीय रोहित मण्डललाई इलाका प्रहरी कार्यालय विराटचोकले नियन्त्रणमा लिएको छ।

दुवै साधन तीव्र गतिका कारण दुर्घटना भएको ट्राफिक प्रहरीको प्रारम्भिक निष्कर्ष छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्