जंगली हात्तीको आक्रमबाट एकजनाको मृत्यु

पुष २७- धरान,  सुनसरीको बराहक्षेत्र नगरपालिकामा जंगली हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ। बराहक्षेत्र-५ सिमरवना ६९ भीमबहादुर बिष्टको चारकोसे जङ्गलमा घाँस काट्न गएको अवस्थामा हात्तीको आक्रमणमा परी मृत्यु भएको सुनसरीका प्रहरी प्रमुख एसपी विपिन रेग्मीले बताएका छन्।

भिमबहादुर बिहीबार घाँस काट्न जङ्गल गएका थिए। जङ्गलमा २७ वटा माउ ९ वटा बच्चा गरी ३६ हात्ती रहेको एसपी रेग्मीले जानकारी दिएका छन्।

सुनसरीमा ठूलो संख्यामा जंगली हात्ती प्रवेश गरेपछि स्थानीय प्रशासनले बराहक्षेत्र नगरपालिका, रामधुनी नगरपालिका र कोशी गाउँपालिका लागायता बासिन्दालाई सचेत हुन आग्रह गरिएको उनले बताए।

स्थानीयले लगायको बालिनाली खान र जङ्गल क्षेत्रमा हात्तीको बथानले आक्रमण गर्ने भएकाले सर्वसाधारणलाई घाँस दाउरा काट्न जङ्गल नजानसमेत अनुरोध गरिएको एसपी रेग्मीले बताएका छन्।

ठुलो संख्यामा हात्ती मानव बस्तीमा प्रवेश गरेकाले स्थानीय त्रसित भएका नेपाली कांग्रेस बराहक्षेत्रका उपसभापति युवराज श्रेष्ठले बताए। उनले जंगली हात्तीलाई नियन्त्रण गरी  जनताको जिउधनको सुरक्षा गर्न सरकारसँग माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्