१८ लाख नक्कली नोटसहित एकजना पक्राउ

पुष १९- रौतहट,  रौतहट प्रहरीले झण्डै १८ लाख रुपैयाँ भन्दा बढीको नेपाली नक्कली नोट सहित एक युवकलाई पक्राउ गरेको छ । रौतहटको देवाही गोनाही नगरपालिका–८ पटेल चोकबाट गुजरा नगरपालिका वडा नं. ५ हरिहरपुरका २५ वर्षीय सन्दीप जयसवाललाई १८ लाख ४३ हजार रुपैयाँको नक्कली नोट सहित पक्राउ गरेको हो ।

पटेल चोकमा सवारी चेकजाँचको क्रममा प्रहरीले जयसवालको साथबाट १ हजार ८४३ थान १ हजार दरको नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।

जयसवालको साथबाट विभिन्न बैंकको ५ थान एटिएम कार्ड र १६ लाख ६५ हजार उल्लेख भएको चेक समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । यसअघि पनि प्रहरीले शिवनगर मेलाबाट भारतीय नोट सहित चार जना, गरुडा नगरपालिका ४ बाट १ हजार दरका ७ थान नक्कली नोटसहित ३ जना र बालचनपुरबाट १ हजार दरको २० थान नक्कली नोटसहित १ जनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्