अमेरिकाबाट पठाएको पार्सलबाट गाँजासहित अन्य लागुऔषध नेपालमा समातियो

पुष १८- वीरगञ्ज,  बारा प्रहरीले अमेरिकाबाट आएको पार्सलबाट लागुऔषध बरामद गरेको छ।हुलाकमार्फत अमेरिकाबाट आएको पार्सलबाट गाँजासहितको लागुऔषध बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय, बारा र लागुऔषध ब्युराे, वीरगञ्ज शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले बारा कलैया उप-महानगरपालिका-१ मोतिबागमा रहेको जिल्ला हुलाक कार्यालय, कलैया नजिक विदेशबाट आएको कार्टुनबाट पपकर्न मि्कस ट्रिओ लेखिएको रातो रंगको टिनको डब्बाभित्र गाँजा ३ तीन प्याकेट, ओल्ड फेसन ओट्स लेखिएको डब्बाभित्र गाँजा १ प्याकेट, क्विस्क ओट्स लेखिएको डब्बाभित्र गाँजा १ प्याकेट गरी
जम्मा लागुऔषध गाँजा १ किलो १४६ ग्राम बरामद गरेको थियो।

लागुऔषध बरामद भएपछि प्रहरीले पर्सा वीरगञ्ज महानगरपालिका-१ बस्ने वर्ष २२ का नैमोदिन मिया, सोही स्थान बजार छपकैया बस्ने वर्ष २७ का जितेन्द्र साह सोनार र वर्ष २२ का कृष्णा सराफलाई पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

पक्राउ परेका तीनैजना विरुद्ध लागुऔषध मुद्दा दर्ता गरी अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको न्यौपानेले बताए।

प्रतिक्रिया दिनुहोस्