आर्सनल शीर्ष स्थानमा पुग्न सकेन्

पुष १३- आर्सनलले इंग्लिस प्रिमियर लिगको अंकतालिकामा शीर्ष स्थानमा रहने मौका गुमाएको छ।

गएराति वेस्ट ह्यामसँग पराजित हुँदा आर्सनलले तालिकाको शीर्ष स्थानमा उक्लिने मौका गुमाएको हो।

त्यसअघि शीर्ष स्थानको लिभरपुलको ४२ अंक रहँदा एक खेल कम खेलेको आर्सनलको ४० अंक थियो।

वेस्ट ह्यामलाई पराजित गर्न सक्दा पुनः लिग लिडर बन्ने मौका आर्सनललाई थियो।

तर घरमै भएको खेलमा पनि वेस्ट ह्यामविरूद्ध गोल गर्न नसक्दा आर्सनलले उक्त मौका गुमाएको हो।

इमिरेट्समा १३ औं मिनेटमा तोमास सुसेकले वेस्ट ह्यामलाई अग्रता दिलाएका थिए।   कोन्स्टानटिनोस माभ्रोपानसले गोल गरेपछि  ५५ औं मिनेटसम्म आर्सनल 0-२ ले पछि परेको थियो।

दर्जनौं प्रयास गरेपनि गोल फर्काउन नसक्दा आर्सनलले घरमै महत्त्वपूर्ण खेलमा हार ब्यहोर्न पुगेको हो।

खेलमा आर्सनलले गोलका लागि ३० वटा प्रहार गरेको थियो। वेस्ट ह्यामले ६ वटा प्रहार गर्दा २ गोल गर्न सफल रह्यो।

हारसँगै आर्सनल समान १९ खेल खेलेर शीर्ष स्थानको लिभरपुलसँग २ अंकले पछि परेको छ। लिभरपुलले ४२ अंक जोड्दा आर्सनलको ४० अंक छ।

आर्सनललाई हराएको वेस्ट ह्याम ३३ अंकसहित छैटौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्