७० वर्षीय वृद्धलाई मदिरा खुवाएर लुटपाट

पुष १२-रौतहट, रौतहटमा ७० वर्षीय वृद्धलाई मदिरा सेवन गराएर लुटपाट भएको छ। लुटपाटको आरोपमा रौतहट प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेहरुमा रौतहटको कटहरिया नगरपालिका–४ का ३१ वर्षीय नसिब बैठा र सोही नगरपालिका–५ का ३६ वर्षीय हरि शंकर साह छन्।

उनीहरु दुई जना मिलेर आज बिहीबार ७० वर्षीय वृद्ध आलम मिया मन्सुरीलाई मदिरा सेवन गराएर लुटपाट गरेका थिए। आलमको साथमा भएको ८२ हजार रुपैयाँ लुटपाट गरेर उनीहरु फरार भएका थिए।

लुटपाट भएको सूचना पाएपछि खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट ५९ हजार रुपैयाँ समेत बरामद भएको छ।

पक्राउ परेका दुबैजनालाई इलाका प्रहरी कार्यालय गरुडामा राखी अनुसन्धान अघि बढाइएको रौतहट प्रहरीका प्रवक्ता तथा डीएसपी एलिजा गिरीले बताइन्।

प्रतिक्रिया दिनुहोस्