चितुवाको आक्रमणबाट ८ घाइते

पुष १-बर्दिया,  जिल्लाको गुलरिया नगरपालिका–११ गोरखचौराहा र बढैयाताल गाउँपालिका–९ टेशनपुरमा एउटा चितुवाको आक्रमणमा सहायक प्रहरी हवल्दार, वन सुरक्षाकर्मीसहित ८ जना घाइते भएका छन् ।

 

आइतबार दिउँसो करिब १ बजेबाट चितुवाले निरन्तर आक्रमण गर्दा ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी तुलसीराम अर्यालले बताए । उनका अनुसार घाइतेको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ ।

 

बढैयाताल–९ का मोहनलाल थारु खेतमा तोरी काटिरहेको अवस्थामा चितुवाले आक्रमण गरी घाइते बनाएपछि स्थानीयले लखेटेका थिए । त्यसपछि चितुवाले गुलरिया–११ फरमान हजामको घर पसेर आक्रमण गरी घाइते बनाएको छ ।

चितुवालाई नियन्त्रणमा लिन राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, बर्दिया निकुञ्जका कर्मचारी र प्रहरी पुगेका थिए । त्यहाँ अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तैनाथ गरिएको छ ।

चितुवा नियन्त्रणमा लिन नसकेपछि केही स्थानीयले वन, प्रकृति संरक्षण कोषका कर्मचारीमाथि दुर्व्यवहार गरेको डिभिजन वन कार्यालयका प्रमुख प्रवीण विडारीले बताए ।

प्रतिक्रिया दिनुहोस्