मुद्दा मिलाई दिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

मंसिर २६-काठमाडौं, मुद्दा मिलाई दिन्छु भन्दै ९९ लाख ७५ हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजको प्रहरीले सोमबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-१ रानीबन बस्नेहरु भोजपुर हतुवागढी गाउँपालिका-५ घर भएका २६ वर्षीय रितु राई र बर्दिया पाताभार गाउँपालिका-१ घर भएका २१ वर्षीय निरेश चौधरी रहेका छन् ।

आपराधिक विश्वाशघात र संगठित अपराध समेत मुद्दामा कारागार कार्यालय जगन्नाथ देवलमा पुर्पक्षका लागि थुनामा रहेका सुर्खेत वीरेन्द्रनगर नगरपालिका-५ घर भएका रेवन्त खड्काको मुद्दा मिलाई थुनामुक्त गराई दिन्छु भन्दै खड्काका परिवारबाट पटक-पटक गरी उक्त रुपैयाँ ठगी गरेको खुल्न आएको छ ।

उनीहरू उपर आपराधिक विश्वाशघात तथा ठगी मुद्दामा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्