देशका विभिन्न ठाउँबाट अवैध लागूऔषधसहित ७ जना पक्राउ

मंसिर २६-झापा, दमक नगरपालिका-३ बेलडागीबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम र नगद १४ हजार रूपैयाँसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेलडागीस्थित भुटानी शरणार्थी शिविरमा बस्ने २४ वर्षीय भीम बहादुर राई र २१ वर्षीय बिकाश घले रहेका छन् । ईलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी बेलडागीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी झापा, बुद्धशान्ति गाउँपालिका-३ र मेचिनगर नगरपालिका-१२ को सीमानाबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ १ ग्रामसहित मेचिनगर नगरपालिका-१३ तेलीबारी चोक घर भएका ३८ वर्षीय पवित्र राजवंशीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले मे.९ प ५०९२ नम्बरको मोटरसाइकल जाँच गर्दा चालक राजवंशीलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-२ स्थित फनपार्कबाट अवैध लागूऔषध ब्राउन सुगर २ ग्राम ३ सय ६० मिलिग्रामसहित गोदावरी नगरपालिका-१ बस्ने २५ वर्षीय बिजय बिष्टलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय महेन्द्रनगर कञ्चनपुर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङबाट अवैध लागूऔषध गाँजा करिब १४ किलो ९ सय ग्रामसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ताप्लेजुङ घर भई सर्लाही मलंगवा नगरपालिका-४ डेरा गरी बस्ने ३० वर्षीया मनिषा लिम्बु र ३९ वर्षीया शान्ति लिम्बु रहेका छन् । अस्थायी प्रहरी पोष्ट थानाभर्‍याङबाट खटिएको प्रहरीले बा.प्र ०१-००६ ख ४४८९ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-९ शिवटोलबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ९ सय ५० ग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय जिवन गुरुङलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्