५० जना प्रहरीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान

मंसिर १४-काठमाडौं, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ५० जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक नियन्त्रण तालिम १४९औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा बिहीबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक पोखरेलले सेवा प्रवाहको क्रममा आफ्नो बोली, बचन र व्यवहारलाई अझ उत्कृष्ट बनाउनुपर्ने उल्लेख गर्दै तालिमबाट प्राप्त व्यावसायिक सीप एवम् क्षमतालाई संगठनको उद्देश्य अनुरूप प्रयोग गर्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक दलराम टमटाले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत असोज ७ गतेदेखि संचालित उक्त तालिममा प्रहरी हवल्दार १ जना, प्रहरी सहायक हवल्दार १२ जना र प्रहरी जवान ३७ जना गरी कुल ५० जना प्रशिक्षार्थीहरुले तालिम हासिल गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्