घाइते शिशुको उपचारको क्रममा मृत्यु, आमा खोज्दै प्रहरी

 कार्तिक  २४-दाङ, दाङमा घाइते अवस्थामा उपचार भइरहेको नवजात शिशुको मृत्यु भएको छ। तुलसी बाल अस्पतालमा उपचार हुँदै गर्दा शिशुको मृत्यु भएको वडा प्रहरी कार्यालय, लमहीले जनाएको छ।

 

 

लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचारपश्चात डिस्चार्ज गरिएको थियो। त्यसपछि घरमा ल्याइएको बच्चा एक्कासी बिरामी भएपछि लमहीस्थित बाल अस्पतालमा भर्ना गरिएको थियो।

 

उपचारको क्रममा बच्चाको मृत्यु भएको र मृत्युको कारणबारे पत्ता लगाउन पोष्टमार्टम गरिने प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए।

 

‘बच्चाको मृत्यु भएको छ। घर लैजानु भएको रहेछ। पोष्टमार्टमको लागि लमही अस्पतालमा ल्याएका छौं’, श्रेष्ठले भने, ‘अनुसन्धान गर्दैछौं।’

 

१६ दिने नवजात शिशुको आफ्नै आमाले हत्या प्रयास गरेकी थिइन्। कार्तिक ८ गते बुधवार दिउँसो लमही नगरपालिका वडा नम्बर ७ कप्तानगञ्ज निवासी २५ वर्षीया निरम चौधरीलाई नवजात शिशुको हत्या प्रयास गरेको अभियोगमा उनलाई नियन्त्रणमा समेत राखिएको थियो।

 

आमाको मानसिक स्वास्थ्य ठिक नभएको पाइएपछि उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो। घरको आर्थिक अवस्था कमजोर भएका कारण बच्चाको उपचारमा समस्या भएपछि प्रहरीकै सक्रियतामा एक लाख रुपैयाँ संकलन गरेर हस्तान्तरणसमेत गरिएको थियो।

 

अहिले बच्चाको मृत्यु भएपछि घटनाले अर्काे रूप लिएको छ। सुत्केरी आमा निरम माइत गएकी थिइन्। उनलाई पक्राउ गर्न प्रहरी परिचालन भएकाे छ।

 

घरमा कोही नभएको अवस्थामा तरकारी काट्न प्रयोग गरिने चक्कुले घाँटीमा प्रहार गरेको पाइएको थियो।

प्रतिक्रिया दिनुहोस्