सीटी सफारीबाट खसेर महिलाको मृत्यु

कार्तिक १८-विराटनगर, मोरङको सुनवर्षी नगरपालिका-८ स्थित सिक्टी-डाइनिया भित्री सडकखण्डमा सीटी सफारीबाट खसेर घाइते भएकी एक जना महिलाको शुक्रबार साँझ मृत्यु भएको छ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ ह ८४४४ नम्बरको सफारीबाट खसेर साँझ ५:४५ बजेतिर सुनवर्षी-६ की ४० वर्षीय सुनीता श्रेष्ठ गम्भीर घाइते भएकी थिइन्।

उनलाई उपचारका लागि रंगेली अस्पताल भर्ना गरिएको थियो। थप उपचारका लागि विराटनगर ल्याउने क्रममा बाटैमा श्रेष्ठको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए।

उनका अनुसार श्रेष्ठलाई साँझ ६:५५ बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन्। दुर्घटनालगत्तै प्रहरीले सफारी चालक सुनवर्षी-८ का ४० वर्षीय मुजमिल मियाँलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस्