देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १५ जना पक्राउ

कात्तिक १७-धनुषा, औरही गाउँपालिका-१ पौडेसर टोल बस्ने २० वर्षीय नितिश कुमार दास र बिदेह नगरपालिका-१ घर भएका २४ वर्षीय प्रिन्स सहनीलाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम ८९ मिलिग्रामसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको संयुक्त टोलीले नितिश कुमारको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध भारत बिहार राज्य मधुवनी थाना बासोपट्टी ग्राम पोष्ट छतौनी-८ बस्ने २४ वर्षीय अशोक कुमार यादवले दिएको भन्ने खुल्न आएपछि अशोकलाई जनकपुर उपमहानगरपालिका-४ कदम चोकबाट प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी धनुषा, जनकपुर उपमहानगरपालिका-४ गंगासागरबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम ७ सय ६५ ट्याब्लेट र नाईट्रोसन १० ट्याब्लेटसहित सोही उपमहानगरपालिका-१२ कुवा रामपुर बस्ने २० वर्षीय गुड्डु साह समेत ३ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषा र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय जनकपुरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

चितवन, राप्ती नगरपालिका-१ लोथरबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ६ ग्रामसहित कालिका नगरपालिका-६ बस्ने २४ वर्षीय अजय कुमाल र सोही नगरपालिका-७ बस्ने २६ वर्षीय शिव श्रेष्ठलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट लोथरबाट खटिएको प्रहरीले वीरगंजबाट चितवनतर्फ आउँदै गरेको ना.५६ प २१०९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा ट्याङ्कीमा लुकाई राखेको उक्त पदार्थ फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

झापा, मेचिनगर नगरपालिका-६ मेचिपुलबाट अवैध लागूऔषध ब्राउनसुगर ७ ग्रामसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईलाम चुलाचुली गाउँपालिका-५ बस्ने ३२ वर्षीय भुपाल तामाङ र २१ वर्षीय सिजन तामाङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारत पानीटंकीबाट नेपालतर्फ आउँदै गरेको को.१४ प ४७६१ नम्बको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-४ भानुभक्त चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ५ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-१ बस्ने २२ वर्षीय बिनय बिक समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगंज बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

जुम्ला, चन्दननाथ नगरपालिका-७ महतगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्राम र नियन्त्रित लागूऔषध नाईट्राजेपाम ३० ट्याब्लेटसहित ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा चन्दननाथ नगरपालिका-७ बस्ने २० वर्षीय लक्ष्मण बम, १८ वर्षीय किशोर र सोही नगरपालिका-१० बस्ने ४० वर्षीय प्रकाश न्यौपाने रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्