नेपालको सानदार जित, विश्वकप खेल्न अमेरिका जाने

कात्तिक १७-कात्मलपानी क्रिकेट मैदानमा शुक्रबार भएको सेमिफाइलनमा यूएईलाई आठ विकेटले पराजित गर्दै नेपाल फाइनलमा पुगेको छ। यससँगै आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा छनोट भएको हो।

काठमाडौंमा जारी एशिया क्षेत्रको विश्वकप छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोली विश्वकपमा छनोट भएका हुन्। यूएईलाई हराउँदै नेपाल र बहराइनलाई हराउँदै ओमन विश्वकपमा छनोट भएका हुन्।

नेपाल १० वर्षपछि दोस्रो पटक विश्वकपमा छनोट भएको हो। यसअघि सन् २०१४ को विश्वकप खेलेको थियो।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा यूएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १८.१ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पुरा गरेको हो। नेपालका लागि आशफि शेखले अर्धशतक प्रहार गरे। उनले ६३ रन बनाए।

त्यस्तै, रोहित पौडेलले ३५, गुल्सन झाले २२ र कुशल भुर्तेलले ११ रन बनाए।

यूएईका लागि निलांश केशवानी र बसिल हमीदले एक-एक विकेट लिए।

यसअघि ब्याटिङ गरेको यूएईले नौ विकेटको क्षतिमा १३४ रन बनाएको थियो। यूएईका लागि भृत्य अरविन्दले ६४, मोहम्मद वासीमले २६, अलिशान शरफुले १६ र आसिफ खानले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

नेपालका लागि कुशल मल्लले तीन, सन्दीप लामिछानेले दुई, सोमपाल कामी र रोहित पौडेलले एक-एक विकेट लिए।

त्यस्तै, त्रिवि क्रिकेट मैदानमा भएको सेमिफाइनलमा बहराइनलाई १० विकेटले पराजित गर्दै ओमन विश्वकपमा छनोट भएको हो। बहराइनले दिएको १०७ रनको लक्ष्य ओमनले १४.१ ओभरमा पूरा गरेको हो। ओमनका लागि कश्यप प्रजापतीले ५७ र प्रतिक अथवालेले ४८ रन बनाए। बहराइनका बलरले विकेट लिन सकेनन्।

त्यसअघि ब्याटिङ गरेको नौ विकेटको क्षतिमा १०६ रन बनाएको थियो। बहराइनका लागि अम्रान अलीले ३०, अह्मेर विन नासीरले २६ र सर्फराज अलीले २३ रन बनाए।

ओमनका लागि अकिब अल्यासले चार, शकील अह्मदले दुई, बिलाल खान, फयाज बट र जीशन मक्सूदले एक-एक विकेट लिए।
अब उपाधिका लागि आइतबार नेपाल र ओमन फाइनलमा प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल त्रिवि क्रिकेट मैदानमा हुनेछ।
https://www.himalkhabar.com/news/138712

प्रतिक्रिया दिनुहोस्