कोदालो प्रहार गरी बुवाको हत्या गर्ने पक्राउ

कार्तिक १०-जनकपुरधाम, सर्लाहीमा छोराले कोदालो प्रहार गरी बुबाको हत्या गरेको छ । हरिवन नगरपालिका ३ डाबरीमा अन्दाजी वर्ष ३५ का छोरा गोकर्ण मैनालीले अन्दाजी वर्ष ८१ का बुवा ओम प्रसाद मैनालीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी एवं प्रवक्ता दीपेन्द्र पंजियार थारुले जानकारी दिए ।

गत बुधबार राति ८ बजेको समयमा छोरा गोकर्णले कोदालो प्रहार गर्दा गम्भीर घाइते भएका बुवा ओम प्रसादको उपचारको क्रममा मृत्यु भएको डीएसपी थारुले जनाए ।

छोराले कोदालो प्रहार गर्दा घाइतेको भएको बुवालाई छिमेकीले बिहीबार बिहान देखेपछि हरिवनस्थित नमुना अस्पतालमा भर्ना गराइएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि चितवन मेडिकल कलेज रेफर गरिएकोमा सोही राति करिब १० बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको डीएसपी थारूले बताए ।

घरायसी विवाद हुँदा कोदालो प्रहार गरी बुवाको हत्या गरेको छोरा गोकर्णलाई प्रहरीले आज दिउँसो ३ बजे नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । ओमप्रसादको माइलो छोरा गोकर्ण भारतमा मजदुरी गरेर आफ्नो जीवनयापन गरिरहेका थिए । दसैँ मान्न घर आएका उनी अविवाहित हुन् ।

प्रतिक्रिया दिनुहोस्