दुई साँढे जुध्दा एक महिलाको मृत्यु

कार्तिक ९-विराटनगर, मोरङको जहदा गाउँपालिकामा दुई साँढे जुध्दा एक महिलाको मृत्यु भएको छ ।

बिहीबार गाउँपालिका ३ स्थित जयरामपुरमा दुईवटा साँढे जुध्दा सो घटना भएको स्थानीय सतिश राजवंशीले जानकारी दिए ।

सडकमा दुई साँढे जुध्दै गर्दा एउटा साढे भागेर घरमा पसेपछि ६० वर्षीया घुर्नी खातुनलाई किच्न पुगेको उनको भनाइ छ । सडक नजिक रहेको घरको आगनमा बसिरहेको अवस्थामा साँढेले किचेपछि महिला गम्भीर घाइते भएकी थिइन् ।

गम्भीर घाइते भएकी महिला खातुनलाई तत्काल उपचारका लागि परिवार सदस्यले विराटनगरस्थित कोसी अस्पताल ल्याएका थिए । सोही क्रममा महिलाको करिब दिउँसो १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

महिलाको मृत्युभएसंगै परिवार र छिमेकीहरुले उपचारमा लापरवाही भएको भन्दै अस्पताल परिसरमा नारावाजी गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्