कैद मिनाहा पाएको २५ दिनमा होटेलमा लगेर महिलाको हत्या

कार्तिक २-सुर्खेत, राष्ट्रपति रामचन्द्र पौडेलबाट बाँकी कैद मिनाहा पाएका रुकुम पश्चिमका एक व्यक्तिले जेलमुक्त भएको २५ दिनमा एक महिलाको हत्या गरेको पाइएको छ ।

गत असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी भएर कारागार कार्यालय रुकुमबाट कैदमुक्त भएका रुकुमपश्चिमको सानीभेरी गाउँपालिका –९ का ३३ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर विकले होटेलमा लिएर एक महिलाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

लोकबहादुरले मुसीकोट नगरपालिका –७ साँखकी २८ वर्षिया भावना विकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक (डिएसपी) नमराज भट्टराईले जानकारी दिए । भावनाको हत्या गरेको आरोपी लोकबहादुरले स्विकार गरेको, दशिप्रमाण र अनुसन्धानका क्रममा समेत खुल्न आएको भन्दै प्रहरीले लोकहादुरलाई बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

मृतकको श्रीमान् र हत्या आरोपीको श्रीमती हाल वैदशिक रोजगारीमा रहेको बताइन्छ । प्रहरीले घटनास्थलबाट धारिलो चक्कु, चक्कुको खोल, नगद ८५ हजार ८३५ रुपियाँ र प्रतिवादीको मोबाइलसमेत बरामद गरेको छ ।

२०८० माघ १९ गते कैदमुक्त हुनुपर्ने लोकबहादुरलाई ७ महिना १२ दिन कैद भुक्तान गरेको र असल चालचलन रहेको भनी राष्ट्रपतिबाट बाँकि कैद मिनाहा गरिएको थियो ।

कैदभुक्तान गर्न ३ महिना २३ दिन बाँकि रहँदै कैदमुक्त भएका लोकहादुरले कारागारबाट निस्केको २५ दिनपछि महिलाको हत्या गरेका हुन् । प्रहरीले लोकबहादुरविरुद्ध कर्तव्य ज्यान मुद्धा शीर्षकमा मुद्धा दर्ता गरेर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्