मोटरसाइकललाई ठक्कर दिएर भाग्दा गाडी नालीमा, एक जनाको मृत्यु, ८ जना घाइते

 कार्तिक १-काभ्रे, काभ्रेमा बुधबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । बुधबार बिहान ६ :४५ बजे जिल्लाको पनौती नगपरपालिका वडा नं ५ स्थित सुन्दरबस्तीमा काठमाडौंबाट पूर्व इलामतर्फ जाँदै गरेको बा ६५ प १७७२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको बा–प्र– ०३– ००१– ज०२९८ नं को इलेक्ट्रिक गाडीले ठक्कर दिएको थियो ।

काभ्रेमा गाडी दुर्घटनामा एक जनाको मृत्यु, ८ जना घाइते

 

मोटरसाइकलाई ठक्कर दिई भाग्ने क्रमम इलेक्ट्रिक गाडी सोही स्थानको सडकको किनारको नालीमा खसेर दुर्घटना हुँदा गाडी सवार ७ जना र मोटरसाइकलमा सवार २ जना गरी ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

दुर्घटनामा घाइते ९ जनालाई उपचारका लागि जिल्ला स्थित धुलिखेल अस्पतालमा लगिएको थियो । घाइतेमध्ये गाडीमा सवार रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं १२ की २० वर्षीया रमिला बुढाथोकीलाई उपचारका क्रममा धुलिखेल अस्पतालले बिहान ७:३५ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, गाडीमा सवार रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं १ की २३ वर्षीया पुष्पा तामाङ, लिखु तामाकोशी गाउँपालिका वडा नं ६ बस्ने ५१ वर्षीय टंक प्रसाद दाहाल, रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं २ की ३० वर्षीया ज्ञानु ढुंगेल, रामेछापकै मन्थली नगरपालिका वडा नं १ का १८ वर्षीय रकिट ढुंगेल, लिखुतामाकोशी गाउँपालिका वडा नं ६ का ३८ वर्षीय अनिल आलेमगर, सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका वडा नं ३ का ३१ वर्षीया उर्मिला घिमिरे, मोटरसाइकलमा सवार इलाम जिल्लाको थाकथुम गाउँपालिका वडा नं ३ का ४० वर्षीय राम कुमार राई र उनकी श्रीमती ३९ वर्षीया प्रविशा सुनुवार घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । ।

इलेक्ट्रिक गाडीका सवारी चालक पनौती नगरपालिका वडा नं ५ का ४१ वर्षीय उपेन्द्र थापालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्