सर्पको टोकाइबाट चार घाइते

असोज २६-ताप्लेजुङ, ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा विषालु सर्पको टोकाइबाट चार जना घाइते भएका छन् । पछिल्लो एक साताको अवधिभित्रै विषालु सर्पको टोकाइबाट एक महिलासहित चार जना घाइते भएका हुन् ।

फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बूकाअनुसार गत शुक्रबार वडा ४ इखाबुका दीपेन्द्र माबोहाङ लिम्बूलाई सिरिसे जातको विषालु सर्पले टोकेको थियो । पशु चौपायाका लागि ग्यालीनजिक बारीमा घाँस काट्नेक्रममा ४२ वर्षीया माबोहाङको दाहिने हातमा सर्पले टोकेको अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।

त्यसपछि गत आइतबार फक्ताङ्लुङ गाउँपालिका –३ लिङ्खिमका एक पुरुषलाई विषालु सर्पले टोकेको छ । त्यस्तै, यसै साताको मङ्गलबार वडा ६ लेलेपको लुङ्थुङ टोलका ३९ वर्षीया ललित राईलाई पनि विषालु सर्पले टोकेको छ । बिहीबार वडा १ सावादिनकी रेखा तामाङ बारकोटीलाई पनि विषालु सर्पले टोकेर घाइते बनाएको गाउँपालिका अध्यक्ष लिम्बूका स्वकीय सचिव दिलकुमार पतङ्वाले जानकारी दिनुभयो ।

यता विषालु सर्पले टोकेर घाइते भएका सर्वसाधारणलाई तत्काल उपचारमा लैजानका लागि गाउँपालिकाले सहयोग गर्दैआएको छ । गाउँदेखि सदरमुकाम फुङ्लिङसम्म गाउँपालिकाले एम्बुलेन्स सुविधा निःशुल्क उपलब्ध गराउँदैआएको छ । त्यसपछि बिरामीलाई उपचारका लागि जिल्लाबाहिर सुविधा सम्पन्न उपचार केन्द्रमा लैजानुपरेमा न्युनतम् शुल्कमा एम्बुलेन्स सुविधा दिँदैआएको गाउँपालिकाले जनाएको छ ।

जिल्लाकै दुर्गम क्षेत्र तथा विकट भौगोलिक बनावट रहेको फक्ताङ्लुङ गाउँपालिकामा विगतमा सर्वसाधारणलाई सर्पले टोकेपछि समयमा उपचार नपाएर ज्यान नै गुमाउनुपर्ने अवस्था थियो । गाउँपालिका अध्यक्ष राजन लिम्बू निर्वाचित भएर आएपछि गाउँपालिकाले दुईवटा एम्बुलेन्स खरिद गरेर पालिकाबासीलाई सुविधा दिँदैआएको इखाबुका बिक्रमसिंह माबोहाङले बताउनुभयो ।

सर्पले टोकेको मात्र नभइ अन्य प्रकृतिका बिरामी तथा घाइतेले एम्बुलेन्स सुविधा प्राप्त भएसँगै समयमा उपचार नपाएकै कारण ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य भएको पनि माबोहाङले बताउनुभयो ।

उहाँकाअनुसार पालिकावासी विरामीलाई गाउँपालिकाभित्रका स्वास्थ्य संस्था र सदरमुकामसम्म लैजानुपरेमा गाउँपालिकाले एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउँदैआएको छ । गाउँपालिका अध्यक्षले चढ्ने सवारीसाधन (गाडी) समेत लिम्बू अध्यक्षमा निर्वाचित भएर आएपछि एम्बुलेन्सको प्रयोगगरी पालिकावासीलाई सुविधा दिन थालिएको थियो ।

सर्पले टोकेर घाइते भएकालाई भने जिल्लामा उपचार सुविधा नहुँदा अन्यत्र लैजानुपर्ने अवस्था रहेको छ । जिल्लाबाट सर्पले टोकेर (डसेर) घाइते भएका अधिकांश विरामीलाई झापाको चारआलीस्थित सर्पदंश अस्पतालमा पुगाएर उपचार गर्ने गरिएको छ ।

 

-गोरखापत्र

प्रतिक्रिया दिनुहोस्