अवैध लागूऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ

असोज २५-मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ ग्राम ६८ मिलिग्रामसहित सोही महानगरपालिका-५ बस्ने ३२ वर्षीय सुरज तामाङलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १० ग्राम ५ सय  मिलिग्रामसहित चितवन भरतपुर महानगरपालिका-१२ घर भएका ३९ वर्षीय विशाल पाण्डेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.७ प २७१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा चालक पाण्डेलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

दाङ, घोराही उपमहानगरपालिका-११ नयाँ बस्तीस्थित कात्तिके सामुदायिक जंगलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-११ शिवपुर बस्ने २६ वर्षीय भिमसेन खड्कालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । खड्काले विक्री वितरण गर्ने उद्देश्यले उक्त जंगलमा लागूऔषध राखेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट बेलझुण्डी र ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मकवानपुर, मनहरी गाउँपालिका-७ रमौलीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५० केजीसहित सोही ठाउँ बस्ने ३० वर्षीय रामशरण चेपाङ समेत ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको गस्ती टोलीले उनीहरूलाई उक्त परिमाणको गाँजा लुकाई छिपाई बोरामा लैजाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

महोत्तरी, जलेश्वर नगरपालिका-१ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ४ सय ५ केजीसहित मकवानपुर थाहा नगरपालिका-२ बस्ने २२ वर्षीय विशाल थिङ्गलाई गएराति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट नगरपालिकाबाट खटिएको प्रहरीले जलेश्वरबाट बखरीतर्फ जाँदै गरेको ना.६ ख ७३७४ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा २७ वटा पोकामा लुकाइ छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी ट्रकका सह-चालक विशाललाई पक्राउ गरेको हो । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

बारा, महागढीमाई नगरपालिका-६ बबुआईनबाट अवैध लागूऔषध गाँजा करिब २९ केजी बुधबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी गंजभवानीपुर र प्रहरी चौकी बरियारपुरबाट खटिएको संयुक्त टोलीलाई देख्नासाथ प्र.२-०३-०२२ प ४५३५ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिले मोटरसाइकलमा ल्याउँदै गरेको बोरा फाली फरार भएपश्चात प्रहरीले बोरा तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो । साथै प्रहरीले खोजी गर्ने क्रममा महागढीमाई नगरपालिका-११ मधुरी टोलस्थित बाँसघारीमा लुकाइ राखेको अवस्थामा उक्त मोटरसाइकल फेला परेको छ भने फरार व्यक्तिको खोजी भइरहेको छ ।

सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्