प्रहरीले चलायो लुटेरा माथी गोली, लुटेरा समूहका एक जना घाइते

असोज २५-काठमाडौंको बौद्धमा प्रहरीको गोली लागेर लुटेरा समूहका एक जना घाइते भएका छन् ।​

गोकणेश्वर नगरपालिका–३ को जगडोलमा प्रहरीले चलाएको गोली लागेर सिन्धुली कमलामाई नगरपालिका–२ घर भएका ३६ वर्षीय अमर घलान घाइते भएका हुन् । उनको घुँडामुनी र तिघ्रामा गोली लागेको छ ।

उनीहरूलाई पक्राउ गर्न जाँदा पेस्तोल निकालेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टोलीले आत्मरक्षाका लागि जवाफी फायर गरेको थियो ।

३ वटा मोटरसाइकलमा आएका लुटेरा समूहलाई पछ्याउँदै गरेको प्रहरी टोलीलाई  देखेपछि उनीहरूले प्रहरीमाथि नै आक्रमण गर्ने खोजेका थिए ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीका अनुसार प्रहरीको जवाफी फायरमा उनी घाइते भएका हुन् ।

घाइते घलानको नेपाल मेडिकल कलेज, जोरपाटी अत्तरखेलमा उपचार भइरहेको छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सर्लाही घर भएका ३६ वर्षीय शन्त लामा र  सिन्धुपाल्चोक घर भएका ३० वर्षीय जितेन लामालाई पक्राउ गरेको छ ।

साथै २ वटा मोटरसाइकल, एक थान पेस्तोल र ७ राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्