असोज १९ -प्रधानमन्त्री पुष्पकमल दाहालआज बझाङ आउँदैैछन्। भूकम्प प्रभावित क्षेत्रको अवलोकनका लागि उनी बिहान १० बजेपछि नेपाली सेनाको हेलिकप्टरबाट त्यसतर्फ आउँन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री दाहालले भूकम्प प्रभावित केही क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए। जिल्ला विपद् व्यवस्थापन समितिसँग अन्तरक्रिया र पीडितहरुलाई राहत हस्तान्तरणको कार्यक्रम पनि रहेको पाण्डेले बताए।
गत मंगलबार गएको भूकम्पले बझाङमा एक जनाको मृत्यु भएको थियो भने दर्जनौं मानिस घाइते भएका छन्। भूकम्पले थुप्रै घर र केही विद्यालय भवन पनि भत्किएका छन्। यसैबीच, मंगलबार ६ दशमलब ३ रेक्टरको शक्तिशाली भूकम्पपछि परकम्प जाने क्रम अझै रोकिएको छैन।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गएराति १० बजेर ५२ मिनेटमा चैनपुर केन्द्रविन्दु भएर चार दशमलव तीन र १२ बजेर २३ मिनेटमा चैनपुर नै केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टर स्केलको परकम्प गएको छ।
प्रतिक्रिया दिनुहोस्