आज विश्वकप क्रिकेटमा पाकिस्तान र नेदरल्यान्ड्स भिड्दै

असोज १९-हैदरावादमा अवस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने खेल नेपाली समय अनुसार दिउँसो २:१५ बाट शुरू हुनेछ।

एकदिवसीय क्रिकेटको विश्व वरीयतामा पाकिस्तान अहिले दोस्रो स्थानमा छ। यस्तै, नेदरल्यान्ड्स १४औं स्थानमा छ। पाकिस्तान र नेदरल्यान्ड्सबीच एकदिवसीय विश्वकपमा सन् १९९६ र २००३ मा दुई खेल भएका थिए। दुवै खेल पाकिस्तानले जितेको थियो।

यी दुई टोली कुल ६ खेलमा आमने सामने भएका छन्। र, ती सबै खेल पाकिस्तानले नै जितेको छ।

पाकिस्तान बाबर आजमको कप्तानीमा मैदानमा उत्रनेछ भने नेदरल्यान्ड्स स्कट एडवर्ड्सको कप्तानीमा मैदानमा उत्रनेछ। दुवै टोलीले आफ्नो ‘प्लेइङ-११’ हालसम्म सार्वजनिक गरेका छैनन्।

शुक्रबार हैदरावादमा पानी पर्ने सम्भावना छैन। मौसम सफा हुने पूर्वानुमान गरिएको छ।

हिजो भएको विश्वकपको पहिलो खेलमा भने साविक उपविजेता न्युजिल्यान्डले साविक विजेता इंग्ल्यान्डलाई हरायो। पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा २८२ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको न्युजिल्यान्डले ३६ ओभर दुई बलमै एक विकेटको क्षतिमा २८३ रन बनाउँदै नौ विकेटको जित हात पार्‍यो।

न्युजिल्यान्डका डेभन कनवे र रचिन रवीन्द्रले शतक प्रहार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्