कैलाली लगायत देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १० जना पक्राउ

असोज १६-कैलाली, गोदावरी नगरपालिका-६ घुएरा बस्ने २६ वर्षीय जय किसन चौधरीलाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्रामसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली र अस्थायी प्रहरी पोष्ट श्रीपुरबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सुर्खेत, बिरेन्द्रनगर नगरपालिका-८ खजुरा बस्ने ५५ वर्षीय बालसरा कार्कीसमेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम, नगद २ लाख १९ हजार रूपैयाँ र सानो डिजिटल तराजु १ थानसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो सुर्खेत, प्रदेश ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले बालसराको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ६ सय ८८ मिलिग्रामसहित पोखरा महरनगरपालिका-७ अन्नपूर्ण टोल बस्ने तनहुँ बन्दिपुर गाउँपालिका-५ घर भएका ४० वर्षीय आईतसिंह गुरूङ समेत ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

पर्सा, वीरगंज महानगरपालिका-२१ विरगंज पथलैयाबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १० ग्रामसहित सोही महानगरपालिका-२८ बगही बस्ने ४४ वर्षीय फागु साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बीरगंजबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

सर्लाही, ईश्वरपुर नगरपालिका-५ बारान टोलबाट नियन्त्रित लागू औषध १ सय एमएलको २ सय २ बोतल विनसिरेक्ससहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ब्रहम्पुरी गाउँपालिका-५ बस्ने २७ वर्षीय  कारी पासवान र २० वर्षीय अग्लेक्स पासवान रहेका छन् । ईलाका प्रहरी कार्यालय केसरगंजबाट खटिएको प्रहरीले बीआर ३० आर ९०३९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा जुटको बोरामा लुकाई छिपाई ल्याएको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यी सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्