दोलखाबाट ११ किलो सुन बरामद, चिनियाँसहित ३ जना पक्राउ

असोज १६-दोलखा, दोलखामा बरामद गरेको ११ किलो सुन प्रकरणमा चिनियाँ नागरिकसहित ३ जना पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले सोमबार र मंगलबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरेको एसपी नवराज अधिकारीले जानकारी दिए।

चिनियाँ नागरिक ग्याङ रू, सनत प्रधान र लालबहादुर तामाङ पक्राउ परेका हुन्।

प्रहरीले उनीहरूमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दोलखामा पठाउने तयारी भइरहेको छ।

यसअघि प्रहरीले यही घटनामा ७ जनालाई पक्राउ गरेको थियो।

यस घटनाबारे जिल्ला प्रहरी कार्यालय दोलखासँग ब्युरोले पनि अनुसन्धान गरिरहेको एसपी अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस्