चितुवाको आक्रमणबाट चार जना घाइते

असोज १५-सल्यानमा चितुवाको आक्रमणबाट चार जना घाइते भएका छन्।

घाइतेमध्ये जिल्लाको छत्रेश्वरी गाउँपालिका–३ दोली गाउँका  ४० वर्षीय राजु केसीको जिल्ला अस्पताल खलङ्गामा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी प्रमुख डिएसपी नवीन कार्कीका अनुसार उनको अनुहार र हात खुट्टामा चितुवाको आक्रमणबाट घाउ लागेको छ।

त्यस्तै सोही ठाउँका १६ वर्षीय छविलाल केसी, २७ वर्षीय  भीमसेन थापा र ४० वर्षीय टेकबहादुर थापालाई पनि चितुवाले आक्रमण गरेको प्रहरीले बताएको छ। उनीहरूको तीनै जनाको स्थानीय मेडिकलहरूमा उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

उनीहरू सबैको चितुवाको आक्रमणबाट हात खुट्टामा चोटपटक लागेकाे छ।

डिएसपी कार्कीका अनुसार सोमबार बिहान ९ बजेतिर छत्रेश्वरी–३ दोलीका पूर्णराज विकले सञ्चालन गरेको कुखुरा फार्मभित्र चितुवा पसेको थियो। स्थानीयले त्यसबाहिर पासो थापेका थिए। स्याल र बाघसमेत बाख्रा तथा कुखुरा खान आउने हुँदा स्थानीयले पासो थापेका थिए।

खोरभित्र पसेर केही कुखुरा मारेपछि बाहिर निस्कने क्रममा चितुवा पासोमा फसेको थियो। राजु केसीले तीन चारवटा मरेका कुखुरा देखेपछि ढोका खोलेर हेर्दा चितुवाले आक्रमण गरेको बताइएको छ ।

त्यहाँबाट निस्किएको चितुवाले बाटोमा जसलाई भेट्यो त्यसैमाथि आक्रमण गर्दै हिँडेको डिएसपी कार्कीले बताए।

अहिले उक्त चितुवालाई नियन्त्रणमा लिने प्रयास भइरहेको। इलाका वन कार्यालय लुहामको समन्वयमा बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी चितुवा नियन्त्रणका लागि सल्यान आइरहेको डिएसपी कार्कीले बताए।

प्रतिक्रिया दिनुहोस्