असोज १०-मकवानपुर, हेटौंडा उपहानगरपालिका-१४ कालिका खोल्साबाट अवैध लागूऔषध गाँजा करिब ६० केजीसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१ चौकीटोल बस्ने ३३ वर्षीय धन बहादुर विक र मनहरी गाउँपालका-१ बस्ने ४० वर्षीय अवतार सिंह डिमडुङ रहेका छन् । उक्त खोल्सामा लागूऔषध गाँजा लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर, ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब २० केजीसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका-३ बस्ने २२ वर्षीय अशोक तामाङ र ३२ वर्षीय बिसन प्रजा रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले प्रदेश ३-०१-०२५ च ५७८३ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-४ बोराडाडीबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम १ सय ६० मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जोशीपुर गाउँपालिका-७ बस्ने २२ वर्षीय बिनय कुवँर र सोही गाउँपालिका-२ बस्ने २२ वर्षीय दिनेश रावत रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
कञ्चनपुर, भिमदत्त नगरपालिका-१० ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ ग्राम ५५ मिलिग्रामसहित सोही नगरपालिका-१९ बस्ने ३२ वर्षीय राम किशन रानालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले रानालाई साइकलमा लुकाई राखेको उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मोरङ, बिराटनगर महानगरपालिका-१८ लाभाघाटबाट अवैध लागूऔषध गाँजा करिब २१ किलो ५ सय ग्राम र नगद ४० हजार रुपैयाँसहित को.१ च ४६१९ नम्बरको एम्बुलेसका चालक सुनसरी धरान उपमहानगरपालिका-११ बस्ने ३८ वर्षीय गंगा सरकारलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको उक्त एम्बुलेस र बीआर ३८ एएफ ०३३६ नम्बरको भारतीय मोटरसाइकललाई जाँच गर्ने क्रममा एम्बुलेसको डिक्कीमा राखेको उक्त गाँजा र नगद सहित एम्बुलेन्स चालक गंगालाई पक्राउ गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी मोरङ, बिराटनगर महानगरपलिका-१८ लाभाघाटस्थित खेतबाट अवैध लागूऔषध गाँजा १६ किलो ५ सय ग्राम मंगलबार राति प्रहरीले बरामद गरेको छ । उक्त खेतको परालमा वेवारिसे अवस्थामा गाँजा लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुधनगर र अस्थाई प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो ।
रूपन्देही, मायादेवी गाउँपालिका-२ माहादेवाबाट अवैध लागूऔषध खैरो हरोइन जस्तो देखिने धुलो ३३ ग्राम १ सय १० मिलिग्रामसहित सोही ठाउँ बस्ने २६ वर्षीया सन्ध्या मल्लाहलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो, जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय सुर्यपुराबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त धुलोसहित पक्राउ गरेको हो । साथै सोही ठाउँ बस्ने रमई मल्लाहको घर तलासी गर्दा अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने धुलो ३३ ग्राम ४ सय ८० मिलिग्राम फेला पारी प्रहरीले बरामद गरेको छ । हाल फरार रमईको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरील थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्