असोज ७-ओखलढुंगा, एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार नालायक भएकोले एकैछिन राख्न नहुने बताएका छन् । ओखलढुंगाको रामपुरमा आइतबार आयोजित गुरु लुइँटेल स्मृति उद्यान उद्घाटन कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् ।
‘यति नालायक सरकार पनि राख्ने हो ? यसलाई जसरी भए पनि टिपेर मिल्काइहाल्नुपर्छ,’ ओलीले भने, ‘ यो सरकारले जनता हेर्दैन । जता पनि सुनमात्रै हेर्छ । ब्रेक-सु ल्याउँछ सुन, सिगरेट ल्याउँछ सुन, स्याउ ल्याउँछ सुन, पानी तान्ने मोटर ल्याउँछ सुन ।’
उनले सरकारलाई सुन तस्करी देख्यौ ? भनेर सोध्दा अर्कोतिर फर्किएर देखिनँ भन्ने गरेको बताए ।
अहिले कांग्रेस पार्टी विचरा अवस्थामा पुगेको ओलीको टिप्पणी थियो । ‘कांग्रेस त के पार्टी छ भन्नु र ?,’ ओलीले भने, लुरुलुरु प्रचण्डको पछिपछि हिँड्नै भ्याइराको छैन ।’
सरकार गठन भएको नौ महिना बित्दासमेत एउटै कानुन बन्न नसकेको र सदन चलाउन नसकेको उनले बताए ।
उनले प्रधानमन्त्री विदेश भ्रमणमा हुँदा किन सदन नचलाएको भन्दै प्रश्न गरे । ‘के प्रधानमन्त्री भ्रमणमा हुँदा सदन चलाउनु मिल्दैन ?’, ओलीको प्रश्न थियो ।
प्रतिक्रिया दिनुहोस्