लमजुङमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

असोज ७-लमजुङ, लमजुङको बेंसीसहरमा रोकेर राखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा झापाको गौरादह नगरपालिका–५, बालुवाथान घर भइ हाल बेंसीसहर नगरपालिका–३, रानीकुवा बस्दै आएका २५ वर्षीय मनिष श्रेष्ठ रहेका छन् । बेंसीसहर नगरपालिका–७, गैरीधारा नजिकै सडकमा रोकेर राखेको ग १ त ३८४२ नम्बरको ट्याक्टरमा शनिबार राति ११ः३५ बजेतिर ना ४७ प ६४६९ नम्बरको मोटरसाइकल ठोक्किँदा चालक श्रेष्ठ सख्त भाइते भएका थिए ।

 

टाउको लगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका श्रेष्ठलाई लमजुङ अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइँले बताए ।

दुर्घटनापछि श्रेष्ठलाई तत्काल अस्पताल लगिएको र उपचारको क्रममा मध्यरात ११ः५५ बजेतिर डाक्टरले मृत घोषणा गरेको प्रहरी निरीक्षक चपाइँले बताए । उनका अनुसार मोटरसाइकलमा श्रेष्ठ एक्लै रहेको बुझिएको छ । दिदीसँग बस्दै आएका श्रेष्ठले राति मोटरसाइकल चलाएर हिँड्नुको कारणबारे भने खुलेको छैन ।

रातको समयमा तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भएर ट्याक्टरमा ठोक्किन पुगेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । श्रेष्ठको शव पोष्टमार्टमको लागि अस्पतालमा राखिएको छ । प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्