असोज ५ –आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएको छ।
गृह मन्त्रालयमा सरकारी वार्ता टोली र आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघबीच सहमति भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्। संसद्मा दर्ता गरिएको विद्यालय शिक्षा विधेयक संशोधन गर्ने सहमति भएको हो।
शिक्षक महासंघका प्रतिनिधिसँग कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतका मन्त्रीले छलफल गरेका हुन्। छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री शर्माले शिक्षकले राखेका मूलभूत विषयमा सहमति भएको बताइन्।
“सरकारका मागअनुसार, विधेयक संशोधन गर्न सरकारले सहजिकरण गर्ने प्रतिवद्धता जनाएको छ। त्यसमा शिक्षकहरू सहमति भएका छन्,” शर्माले भनिन्।
विधेयक संशोधनका लागि महासंघका प्रतिनिधि सहितको कार्यदल बन्ने भएको छ। त्यसले दिने सुझावका आधारमा विधेयक संशोधन गरिनेछ।
यससँगै शिक्षकको आन्दोलन फिर्ता लिने सहमति भएको छ। सहमतिका बुँदा लिखित रुपमा सार्वजनिक गर्ने तयारी भइरहेको शर्माले बताइन्।
प्रतिक्रिया दिनुहोस्