दाइजोको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

असोज ४-सुनसरी, सुनसरीको इनरूवा नगरपालिका–३ का ३२ वर्षीय नगेन्द्र भगतलाई दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१७ मटेरूवाकी २३ वर्षीया निकिता चौधरीको शनिवार राति हत्या आरोपमा उनलाई प्रक्राउ गरिएको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिनुभयो । माइती पक्षले उजुरी दिएको आधारमा भगतलाई पक्राउ गरिएको रेग्मीले बताउनु भयो ।

उनले २१ महिना अगाडि विवाहका बेला चौधरीसँग ३२ लाख रुपैयाँ नगद, आठ तोला सुन, ९० तोला चाँदी र एक वटा मोटरसाइकल दाइजोमा ल्याएका थिए । थप दाइजो नल्याएको भन्दै चौधरीको हत्या गरेको माइती पक्षको आरोप छ । हत्या भएपछि भगतलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । थप दाइजो माग्दै दिदीको हत्या गरेको भन्दै मृतकका भाइ राकेशले कारबाही गर्न माग गरेका प्रहरीले जनाएको छ । उनीहरूको ११ महिनाको छोरासमेत रहेको जनाइएको छ । माइती पक्षले नाबालक छोराको समेत जिउज्यानको सुरक्षा गरिदिन प्रहरीसमक्ष आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्