टीकापुर, दार्चुलाबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

दार्चुला, शैल्यशिखर नगरपालिका-९ नायलस्थित सडकबाट अवैध लागूऔषध चरेश ८ किलो ८ सय ५० ग्रामसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बैतडी पूर्चौडी नगरपालिका-४ भाटना बस्ने ३५ वर्षीया भावना धामी र सोही ठाउँ बस्ने ४४ वर्षीय जय बहादुर धानुक रहेका छन् । बैतडीको गन्नाबाट गोकुलेश्वर दार्चुलातर्फ लागूऔषध चरेश आइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा धामीको  झोलाबाट ६ किलो  र धानुकको झोलाबाट २ किलो ८ सय ५० ग्राम चरेश फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्रामसहित टीकापुर नगरपालिका-७ मौभेरीटोल बस्ने २२ वर्षीय रोशन बुढालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्