सुदूरपश्चिममा १९१ महिला जबरजस्ती करणीको सिकार

भदौ २५-सुदूरपश्चिम, सुदूरपश्चिममा एक वर्षको अवधिमा एक सय ९१ महिला, बालिका, किशोरी र युवती जबरजस्ती करणीमा परेको तथ्यांक सार्वजनिक भएको छ। आर्थिक वर्ष २०७९/८० मा एक सय ९१ महिला, बालिका, किशोरी र युवती जबरजस्ती करणीमा परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको तथ्यांकले देखाएको हो।

यो संख्या अघिल्ला दुई आर्थिक वर्षको तुलनामा घटेको देखाइपनि समाजमा अझै पनि चेलीबेटी सुरक्षित नभएको उल्लेखित तथ्यांकबाट प्रमाणित हुन्छ। आर्थिक वर्ष २०७७/७८ मा दुई सय ३१ तथा आर्थिक वर्ष २०७८/७९ मा दुई सय ३६ महिला, बालिका, किशोरी र युवती जबरजस्ती करणीको सिकार बन्न पुगेको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ।

पछिल्लो तीन वर्षमा ६ सय ५८ महिला, बालिका, किशोरी र युवती जबरजस्ती करणीमा परेको पाइएको हो। साथै प्रदेशभित्र जबरजस्ती करणी उद्योग अन्तर्गतका घटनामा पनि वृद्धि हुँदै गएको छ। गत आर्थिक वर्ष २०७९/८० मा ६३ यस्ता घटना सार्वजनिक भए पनि आर्थिक वर्ष २०७७/७८ मा ८७ तथा आर्थिक वर्ष २०७८/७९ मा बढेर ९२ गरी कुल दुई सय ४२ जबरजस्ती करणी उद्योगका घटना दर्ता भएका छन्।

पछिल्लो तीन वर्षको अवधिमा प्रदेशभित्र बाल यौन दुराचारका १८, अप्राकृतिक मैथुन चार, यौन दुव्र्यवहारका ३१ घटना घटेको प्रदेश प्रहरी कार्यालय धनगढीको तथ्यांकले देखाएको छ। प्रदेशभित्र बालविवाह र बहुविवाहका घटनामा पनि अझै कमि आउन सकेको छैन्। सो अवधिसम्म दुई सय ७१ बहुविवाह र २१ घटना बालविवाहका प्रहरीमा दर्ता भएका छन्।

साथै मानव बेचबिखन तथा ओसारपसारका पछिल्लो तीन वर्षको अवधिमा ४४ घटना प्रहरीसम्म आइपुगेको अभिलेख छ। महिला तथा बालबालिका सम्वन्धि अपराधमा प्रदेशभित्र आर्थिक वर्ष २०७७/७८ मा चार सय ८९, आर्थिक वर्ष २०७८/७९ मा चार सय ३८ र गत आर्थिक वर्ष २०७९/८० मा यस्तो संख्या घटेर तीन सय ६८ मा सिमित बन्न पुगेको प्रदेश प्रहरी कार्यालय धनगढीले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्