टिकापुर लगायत विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १७ जना पक्राउ

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ स्थितबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ ग्रामसहित झापा मेचीनगर नगरपालिका-१० बस्ने ३३ वर्षीय राजिब कार्कीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङगा र लागू औषध नियन्त्रण ब्यूरोबाट संयुक्त  रुपमा खटिएको प्रहरीले बा.प्र०३-००१ख २५१३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवारी उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १८ ग्रामसहित बाँके खजुरा गाउँपालिका-२ बस्ने २६ वर्षीय अमृत सिंह ठकुरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण व्यूरोबाट समेत खटिएको प्रहरीले नेपालगंजबाट काठमाडौंतर्फ आउँदै गरेको भे.१ ख ३८४८ नम्बरको बसलाई जाँच गर्ने क्रममा ५३ वटा पोका पारी ल्याएको उक्त पदार्थसहित उनलाई पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा ३ किलो ६ सय ग्रामसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारा जितपुर सिमरा उपमहानगरपालिका-८ बस्ने ५६ वर्षीय शिबनाथ सहनी र ४५ वर्षीय मदन सहनी रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले बा.४ ख ५९३७ नम्बरको मिनी बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-५ बिशालटारबाट अवैध लागूऔषध गाँजा करिब १५ केजीसहित गल्छी गाउँपालिका-६ बस्ने ३८ वर्षीय जित बहादुर रोक्कालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेनिघाटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

बर्दिया, मधुबन नगरपालिका-७ दशरथबस्ती  बस्ने २१ वर्षीय सौगात सुनार समेत ५ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३० मिलिग्रामसहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनीहरुले लागूऔषध सेवन गरिरहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढोढरी र प्रहरी चौकी तारातालबाट खटिएको प्रहरीले उक्त पदार्थ सेवन गरिरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

कैलाली, टिकापुर नगरपालिका-६ नारायणपुरस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन १ सय ६० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय सुरज चौधरी र १८ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित एक नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ०२ मिलिग्रामसहित सप्तरी औरही गाउँपालिका-५ बस्ने २१ वर्षीय नितिश कुमार यादवलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको  छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ९४ एम्पुल, फेनारगन १ सय ९६ एम्पुल र नुर्फिन २ सय एम्पुलसहित काठमाडौं महानगरपालिका-२४ मखनटोल बस्ने ५० वर्षीय अनिल महाजुलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको मधेश प्रदेश-०३-००१ ज ०३८५ नम्बरको टाटा सुमोलाई प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

बारा, कोल्हबी नगरपालिका-२ भलुवाहीखोरबाट अवैध लागूऔषध गाँजा ५ किलोसहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा निजगढ नगरपालिका-१३ बस्ने ३८ वर्षीय बलराम लामा, २७ वर्षीय अनिल लामा र ३५ वर्षीय शुकराम स्याङतान रहेका छन् । अस्थायी प्रहरी पोष्ट झुरझुरबाट खटिएको प्रहरीले तामागढीबाट कोल्हबीतर्फ आउँदै गरेको ना.२ ह १४०० नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्