कैलाली,कञ्चनपुरसहित अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट ११ जना पक्राउ

भदौ ८,मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित सुन्दर हरैचा नगरपालिका-४ बस्ने ३५ वर्षीय अनिल शर्मालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको  हो ।

कञ्चनपुर, पुनर्वास नगरपालिका-१० दोदा पुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-११ डोकेबजार बस्ने २० वर्षीय सुमित चौधरी र १९ वर्षीय जोगराज चौधरी रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-८ स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर ५ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-७ बस्ने १९ वर्षीय गोविन्द रानालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

सिरहा, गोलबजार नगरपालिका-६ दुर्गामन्दिरस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ सय मिलिग्रामसहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नरहा गाउँपालिका-५ बस्ने १९ वर्षीय रन्जन यादव, सोही नगरपालिका-६ मझौवा बस्ने २६ वर्षीय धर्मेन्द्र महतो र मिर्चैया नगरपालिका-५ बस्ने ३१ वर्षीय दिपेन्द्र कुमार साह रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो गोलबजारबाट खटिएको प्रहरीले म.प्र ०२- ००६ प १२४८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

धादिङ, गल्छी गाउँपालिका-७ वाईसकिलाबाट अवैध लागूऔषध गाँजा करिब २ किलोसहित मकवानपुर कैलास गाउँपालिका बस्ने १८ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गल्छीबाट खटिएको प्रहरीले ना.५ ख ५८४० नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ५ केजीसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्सा बहुदरमाई नगरपालिका-६ गमरीया बस्ने ४७ वर्षीय हिरालाल शाह र बारा बस्तिपुर बस्ने ४८ वर्षीय धुरन साह रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले बा.प्र ०३ -००१ ख २७५८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, हेटौडा उपमहानगरपालिका-१९ नेवारपानीबाट अवैध लागूऔषध गाँजाको धुलो ४१ केजी ३ सय ग्रामसहित बारा जितपुर सिमरा उपमहानगरपालिका-११ बस्ने २७ वर्षीय नारायण शाह गुणलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय ज्यामीरे नेवारपानीबाट खटिएको प्रहरीले मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश २-०३-००१ च २५२५ नम्बरको पिकअप गाडी जाँच गर्ने क्रममा गाडीमा लुकाई छिपाई ल्याएको अवस्थामा उक्त गाँजाको धुलोसहित गाडी चालक गुणलाई पक्राउ गरेको हो ।

सवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्