सेतीमा बिरामीको मृत्यु भएपछि तनाव, शव नउठाउने आफन्तको अडान

भदौ ४-धनगढी, सेती प्रादेशिक अस्पतालमा एक बिरामीको मृत्यु भएपछि तनाव सिर्जना भएको छ।

सोमवार दिउँसो घरमा बेहोस् भएपछि उपचारका लागि ल्याइएका धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ४० वर्षीय अरूणकुमार रानाको मृत्यु भएपछि तनाव सिर्जना भएको हो।

मिर्गी हुने समस्या भएका रानाको अस्पतालको लापरबाहीको कारण मृत्यु भएको भन्दै आफन्तले अस्पताल घेराउ गरेका छन्। मृतककी भतिजी सोनियम रानाले आकस्मिक कक्षमा उपचार नगरिदा काका अरूणको मृत्यु भएको बताएकी छन्। दिउँसो १२ बजे सेती अस्पतालको आकस्मिक कक्षमा पुगेका अरुणलाई टिकट काट्न टिकट काउन्टरमा पठाइएको र त्यसपछि ओपिडी कक्षमा एक घण्टासम्म डाक्टर नआएपछि उनको मृत्यु भएको मृतकी भतिजी सोनियमले बताइन्।

‘काका एक्कासी ढलेर बेहोस भएपछि १२ बजेतिर अस्पताल ल्याएका थियौँ। सुरूमै ईमरजेन्सी कक्षमा लग्यौँ तर त्यहाँबाट टिकट काटेर ओपिडी चेकजाँच गर्ने ठाउँमा लैजान भनियो,’ रानाले भनिन्, ‘एक घण्टासम्म डाक्टर आउनुभएन। दुई बजेतिर फेरि बेहोस् भएर उहाँको मृत्यु भयो।’

मृतककी दिदी समेत रहेकी पूर्व प्रदेशसभा सदस्य मालामती रानाले डाक्टरले लापरबाही गर्दा भाइको मृत्यु भएको भन्दै घटनाको छानबिन हुनुपर्ने बताएकी छिन्। उनले दोषी डाक्टरलाई कारबाही नहुँदासम्म शव नउठाउने बताइन्। ‘यो अस्पतालमा सधै लापरबाही हुने गरेको छ।

आज यहाँका डाक्टरको लापरबाहीका कारण मैले पनि आफ्नो भाइ गुमाएकी छु,’ रानाले भनिन्, ‘घटनाको छानबिन गरी दोषीलाई कारबाही नगरेसम्म हामी शव उठाउदैनौँ।’ प्रादेशिक अस्पताल मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले रानाको मृत्यु भएको घटनाबारे बुझिरहेको बताएका छन्। घटनाबारे बुझेर मात्रै आधिकारीक प्रतिक्रिया दिने बताए।

प्रतिक्रिया दिनुहोस्