सत्ताबाहिर बस्नुपर्दा एमाले छट्पटिएको छ : पुन

भदौ ३- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले प्रमुख प्रतिपक्षी नेकपा एमाले सत्ता बाहिर बस्नु परेका कारण छट्पटाएको बताएका छन्।

पार्टीको युवा विशेष महाशाखाको बैठकलाई आइतबार मुख्यालय कोटेश्वर पेरिसडाँडामा सम्बोधन गर्दै पुनले लगातार तीन वर्षसम्म सत्ता बाहिर बस्नुपर्दा एमाले छट्पटिएको बताएका हुन्।

एमालेले जेसुकै विषयमा पनि संसद अवरुद्ध गरेर संसदलाई बन्दी बनाउनुको कारण सोही छटपटीको अभिव्यक्ति भएको उनको भनाइ थियो।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान गठबन्धन सरकारले सुशासनका पक्षमा र भ्रष्टाचार अन्त्यका लागि चालेका कदममा यो वा त्यो नाममा विरोध गरेर एमालेले आफूलाई जनताको नजरमा गिराउने काम गरेको उनले आरोप लगाए।

‘भ्रष्टाचारविरुद्धका कुरा उठ्दा, सुशासनका कुरा उठ्दा होस् वा वैदेशिक सम्बन्धमा कुरामा होस् सकारात्मक विषयमा पनि प्रतिपक्षी भूमिका निर्वाह गर्ने नाममा नकारात्मक प्रतिक्रिया दिनु एमाले नेतृत्वको धर्म जस्तै भएको छ’, उनले भने, ‘तीन वर्ष सत्ता बाहिर बस्नुपर्दाको छटपटाहट संसद् र बाहिर र भित्रबाट सकारात्मक कामको विरोध गर्नुले पुष्टि गर्छ।’

पुनले निःशर्त संसदको अवरोध हटाएर लोकतान्त्रिक व्यवहार प्रदर्शन गर्न एमाले नेतृत्वलाई आग्रह गरे। सुन तस्करी प्रकरणको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले छानबिन गरिरहेको भन्दै उनले उसले प्रतिवेदन तयार पारेपछि चित्त नबुझे छानबिन समिति गठन गर्न सकिने विकल्प रहेको उल्लेख गरे।

 

-अन्नपूर्ण

प्रतिक्रिया दिनुहोस्