बबइमा बगेर तीन जना वेपत्ता

श्रावन २८-दाङ, बर्दीयामा बाढीमा परी तीन जना वेपत्ता भएका छन् ।

 

बाढीमा बबई नदी आसपास दाउरा लिन गएका तीनजना पुरुष हराएका र उनीहरूको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी रिसालकाअनुसार बाढीका कारण बर्दिया नगरपालिका र बासगढी नगरपालिकाका साढे दुई सय घर डुबानमा परेका छन् । त्यहाँका बासिन्दालाई भने सुरक्षित स्थानमा सारिसकिएको छ । अहिले पनि पानी परिरहेको र अझ अझै पानी पर्ने सम्भावना रहेकाले नदीको तटीय क्षेत्रमा नजान तथा गहिरो स्थानमा रहेकाहरुले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । यसैबिच गएरातिदेखि परिरहेको पानीले नदीमा पानीको बहाव बढेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । विभाग अन्तरगतको बाढी पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बग्ने स–साना नदीमा आकस्मिक बहावको जोखिम रहेको छ ।

 

नारायणी, कर्णाली, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, महाकाली नदी र यसका सहायक नदीहरूको जलसतह सतर्कता आसपास पुग्न सक्ने तथा केहीमा खतराको तह आसपास वा माथि पुग्नसक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ । आज इलाम, झापा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, रौतहट, पर्सा, बारा, चितवन, नुवाकोट रसुवा, धादिङ, गोरखा, लमजुङ, तनहुँ, बागलुङ, गुल्मी, अर्घाखाँची, प्यूठान, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, सल्यान, दाङ, बाँके, बर्दिया, कालीकोट, बाजुरा, बझाङ, दार्चुला, बैतडी, सुर्खेत, दैलेख, अछाम, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर र आसपास भई बहने केही स–साना नदीहरुमा आकस्मिक बहावको जोखिम रहने पूर्वानुमान गरिएको छ । साथै, मोरङ, सुनसरी, पाँचथर, ताप्लेजुङ, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा र आसपास भई बहने अन्य नदीमा पनि पानीको बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्