अवैध लागूऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ

झापा, अर्जुनधारा नगरपालिका-६ बाल बिकाश चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम १ सय मिलिग्रामसहित सोही नगरपालिका-११ बस्ने २५ वर्षीय निर्मल बुढाथोकीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कञ्चनपुर, कृष्णपुर नगरपालिका-५ मालुबेलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६० मिलिग्रामसहित कैलाली धनगढी उपमहानगरपालिका-५ बस्ने २५ वर्षीय अर्जुन चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-२१ पुरैना बस्ने ५९ वर्षीय मोहम्द सरिफ बागवान र सोही उपमहानगरपालिका-६ बस्ने २८ वर्षीय फेशकार खटिकलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्रामसहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले मोहम्द सरिफको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय मिलिग्रामसहित दाङ तुल्सीपुर उपमहानगरपालिका-४ बस्ने २७ वर्षीय हरि भक्त गिरी र दाङ दंगीशरण गाउँपालिका-३ हेकुली बस्ने ३२ वर्षीय प्रबिन चौधरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज बाँकेबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको रा.४ प ६०९२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

तनहुँ, ब्यास नगरपालिका-३ बिसघरे बस्ने ३६ वर्षीय नबिन कुमार थापालाई अवैध लागूऔषध गाँजा करिब ५ केजी ५ ग्रामसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

मोरङ, बिराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय १० मिलिग्रामसहित बेलबारी नगरपालिका-४ बस्ने ३३ वर्षीय सनम गुरूङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १-०२-०५२ प ७५९६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक गुरूङलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्