अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ

कञ्चनपुर, भिमदत्त नगरपालिका-१० ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोईन ७ ग्राम ५७ मिलिग्रामसहित सोही नगरपालिका-१८ बस्ने २० वर्षीय भुवन खुनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

 

कैलाली, धनगढी उपमहानगरपालिका-४ बसपार्क डेरा गरी बस्ने अछाम मंगलसेन नगरपालिका-१ घर भएका २३ वर्षीय रमेश रानालाई ५ ग्राम र धनगढी उपमहानगरपालिका-४ बोराडाडी बस्ने २५ वर्षीय बिज्ञान बस्नेतलाई ७ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो महेन्द्रनगर र जिल्ला प्रहरी कार्यायल कैलालीबाट खटिएको प्रहरीले रानालाई धनगढी उपमहानगरपालिका-३ त्रिनगर ब्यारेलबाट र बस्नेतलाई सोही उपमहानगरपालिका-२ मिलनचोकबाट पक्राउ गरेको हो ।

 

काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-५ थलीबाट नियन्त्रित लागूऔषध प्रोमेथाजाइन ३२ एम्पुल, बुप्रोनोर्फिन ३२ एम्पुल र डाईजेपाम ३२ एम्पुल, ७ थान सिरिन्ज र नगद १० हजार रूपैयाँसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-७ भोटेचौर भएका ३१ वर्षीय शालिकराम खतिवडा र रामेछाप गोकुल गंगा गाउँपालिका घर भएका ३० वर्षीय सुविन सुनुवार रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले बा.७७ प १५३० नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

 

ललितपुर, ललितपुर महानगरपालिका-२५ सातदोबाटोबाट नियन्त्रित लागूऔषध नोर्फिन १० एम्पुल, डाईजेपाम १० एम्पुल र फेनारगन १० एम्पुलसहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर चिसोपानी नगरपालिका-९ घर भई हाल ललितपुर धापाखेल बस्ने २४ वर्षीय दिपेश कार्की, सिन्धुली मरिण गाउँपालिका-३ घर भई हाल ललितपुर धापाखेल बस्ने २२ वर्षीय दिपेश तामाङ र सिन्धुपाल्चोक निशंखु गाउँपालिका घर भई भक्तपुर बस्ने २६ वर्षीय सजन तामाङ रहेका छन् । यसैगरी ललितपुर महालक्ष्मी नगरपालिका-३ टिकाथली झोलुङगे पुल नजिकबाट नियन्त्रित लागूऔषध भेनस १० पिस, स्पास्पेन १० पिस र वरनेकस १ पिससहित रौतहट बडियापुर नगरपालिका-८ घर भई हाल ललितपुर इमाडोल बस्ने २१ वर्षीय रतन जी लाई प्रहरी वृत्त सातदोबाटो समेतबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्