झापा, ९ साउन । मोरङको मिक्लाजुङमा एक मन्दिरमा गाडिएको अवस्थामा एक लाख बढी रकम फेला परेको छ । मिक्लाजुङ–९ स्थित मधुमल्लामा रहेको भगवती शिव राधाकृष्ण दुर्गा मन्दिर परिसरमा उक्त रकम फेला परेको हो । मन्दिरमा बगैंचा बनाउने क्रममा १ लाख ६ हजार रुपैयाँभन्दा बढी रकम भेटिएपछि धेरैले गाडधन भन्दै सामाजिक सञ्जालमा भाइरल गरेका छन् ।
मन्दिर व्यवस्थापन समितिले मन्दिर परिसरमा बगौंच बनाएर सरसफाइ गर्ने क्रममा चार दिनअघि छ वटा पोकामा पैसा फेला परेको हो । मिक्लाजुङ गाउँपालिका–९ का वडाध्यक्ष सेमन्तराज दाहालले पूजारीले गाडेर राखेको पैसा फेला परेको बताएका छन् । ती पोकामा काम लाग्ने १ लाख ६ हजार १ सय रुपैयाँ रहेको र १० हजार भन्दा बढी रकम काम नलाग्ने अवस्थामा रहेको फेला परेको छ । आफन्त नभएका केही पुजारी मन्दिर परिसरमा बस्ने गरेको र मन्दिरभित्र सुरक्षित राख्ने ठाउँ नभएकाले सुरक्षित ठाउँमा राख्ने भनेर गाडेको हुन सक्ने अध्यक्ष दाहालको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्