अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

असार ३१- कैलाली, गोदावरी नगरपालिका-४ गोदावरीबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ६० मिलीग्रामसहित कञ्चनपुर बेलडाँडी गाउँपालिका-४ बैबाह बस्ने २० वर्षीया कबिता बस्नेत समेत ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय अत्तरीयाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगर व्यारेलबाट अवैध लागूऔषध खैरो हेरोईन १० ग्रामसहित सोही उपमहानगरपालिका-२ बैयाबेहडी बस्ने बैतडी मेलौली नगरपालिका-२ घर भएका २२ वर्षीय मनोज चन्दलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले जाँच गर्दा उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । साथै डडेल्धुरा अमरगढी नगरपालिका-५ बस्ने २४ वर्षीय आकाश भट्टलाई नियन्त्रित लागूऔषध स्पास १६ क्याप्सुलसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेल नजिकबाट अवैध लागूऔषध ब्राउन सुगर २ ग्राम ३ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-४ बस्ने २८ वर्षीय रबि चौधरीलाई  शनिबार साँझ प्रहरीले पक्राउ गरेको  छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्दा उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

झापा, शिबसताक्षी नगरपालिका-५ स्थितबाट अवैध लागूऔषध गाँजा करिब १ केजी  ३ सय ९६ ग्रामसहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-४ बस्ने ३० वर्षीय दिपक राई, २० वर्षीय जितेन ताजपुरिया र  सोही नगरपालिका-५ बस्ने लजमुना खातुन रहेका छन् । ईलाका प्रहरी कार्यालय शिबगंजबाट खटिएको प्रहरीले थोरै गाँजासहित दिपक र जितेनलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त गाँजा लजमुना खातुनबाट किनेर ल्याएको खुल्न आएपश्चात उनको घर  तलासी गर्ने क्रममा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजासहित फेला पारी उनीहरुलाई पक्राउ गरेको   हो ।

यसैगरी झापा, दमक नगरपालिका-३ स्थित बेल्डागी भुटानी शिविर सेक्टर बी ३ छाप्रा नम्बर २८७ मा बस्ने पाँचथर घर भएका २४ वर्षीय राजु राईलाई अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । राजुले लागु औषध बिक्री बितरण गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले छाप्रो तलासी गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङबाट अवैध लागूऔषध गाँजा करिब ६० केजीसहित गोरखा आबुखैरहनी गाउँपालिका-३ बस्ने ३७ वर्षीय दुर्गा दर्जीलाई गएराति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट थानाभर्‍याङबाट खटिएको प्रहरीले बा.प्र०३-००१ च १६८८ नम्बरको गाडीलाई सोही उपमहानगरपालिका-४ कर्रामा जाँच गर्दा उक्त परिमाणको गाँजासहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ ४ सय ८० मिलिग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाही हरिवन नगरपालिका-१० बस्ने २८ वर्षीय सगुन थापा र सोही नगरपालिका-९ बस्ने २९ वर्षीय उज्वल जंग थापा रहेका छन् । प्रहरी चौकी ईनार्वा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०३-०२७ प ७३६७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरुलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।

 स्रोतः नेपाल प्रहरी

प्रतिक्रिया दिनुहोस्