दुई वटा ट्रक ठोक्किएर आगलागी हुँदा तीन जनाको मृत्यु, दुई जना घाइते

मकवानपुर – मकवानपुरमा दुई वटा ट्रक एक आपसमा ठोक्किएर आगलागी हुँदा तीन जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । दुईवटा ट्रक ठोक्किएर भएको आगलागीमा ट्रकमा रहेका पाँच जनामध्ये तीन जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेमा ना ६ ख ६६६७ नम्बरको ट्रकका चालक चितवनको राप्ति नगरपालिका–८ का २८ वर्षीय रिहान रुम्बा तामाङ,  त्यहि ट्रकका सहचालक गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर–२ गोर्दीटार का २१ वर्षीय सुमन चेपाङ र ना ६ ख ६३१ नम्बरको ट्रकका सहचालक मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर–३ का २० वर्षीय अमृत प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो ।

तीन जनाको शव हेटौंडा अस्पतालमा राखिएको छ । घाइते भएका ट्रकमा सवार चितवनको राप्ति नगरपालिका वडा नम्बर–३ का बिबेक तामाङ र एउटा ट्रकका चालक मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर–३ का अर्जुनकुमार प्रजालाई उपचारका लागि भरतपुर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार राति २ बजे मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ नयाँबस्तीमा ना ६ ख ६६६७ नम्बरको ट्रक र ना ६ ख ६३१ नम्बरको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । ट्रकमा लागेको आगो दमकलको सहयोगमा बिहान निभाइएको छ ।

 

स्रोतः उज्यालो

प्रतिक्रिया दिनुहोस्