सार्वजनिक सवारी साधनमा यात्रा गर्ने व्यक्तिको रकम चोरी गर्ने व्यक्तिहरू पक्राउ

असार २१ -ललितपुर, ललितपुर महानगरपालिका-१७ ग्वार्कोमा सार्वजनिक गाडीमा यात्रा गरेका एक पीडितको साथबाट ७ हजार ४७ अमेरिकन डलर चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा उक्त अमेरिकन डलर चोरी गर्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-६ घर भई हाल भक्तपुर ठिमी बस्ने ३१ वर्षीय सञ्जिव तामाङ, पर्सा ठोरी गाउँपालिका-५ घर भई हाल काठमाडौं दक्षिणकाली नगरपालिका-५ फर्पिङ बस्ने ३३ वर्षीय आईतमान तामाङ, सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-३ घर भई हाल ललितपुर ईमाडोल बस्ने २१ वर्षीया सविना तामाङ र चोरी गरेको अमेरिकन डलर सटही गर्ने ललितपुर महानगरपालिका-१७ ग्वार्को बस्ने ५८ वर्षीया मंगल लक्ष्मी श्रेष्ठ रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले सञ्जिव, आईतमान र सविनालाई ललितपुर ग्वार्कोबाट नेपाली नगद २ लाख रूपैयाँ र मोबाइलहरूसहित तथा मंगल लक्ष्मीलाई ललितपुर वकुबहालस्थित महाबुद्ध मनि एक्सचेन्जबाट अमेरिकन डलर १ सय दरको २८ थानसहित पक्राउ गरेको हो ।

उनीहरू उपर चोरी सम्बन्धी कसूरमा थप आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरमा पठाइएको छ ।

स्रोतः नेपाल प्रहरी

प्रतिक्रिया दिनुहोस्