अदालतका नायब सुब्बामाथि कानुन व्यवसायीको हातपात. तामाङको दुईवटा दाँत हल्लिनुका साथै ओठमा चोट

 आसर १४-ललितपुर । ललितपुर जिल्ला अदालतकी एक महिला कर्मचारीमाथि कानुन व्यवसायीले हातपात गरेका छन् । बुधबार अपराह्न ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि अधिवक्ता अमिर लामिछानेले हातपात गरेका हुन् ।

अदालतको कार्यकक्षमै बसेर काम गरिरहेको समयमा बुधबार ४ः३० बजेको समयमा अधिवक्ता लामिछानेले तामाङमाथि हातपात गरेका थिए । मुद्दाको मिसिल र आदेश हेर्न फाइल लिन खोजेपछि महिला कर्मचारी तामाङले मिसिल बाहिर लान मिल्दैन भन्दा उनीमाथि हातपात भएको हो ।

कानुन व्यवसायी लामिछानेको मुक्का प्रहारबाट ललितपुर जिल्ला अदालतका नायब सुब्बा प्रेमिका तामाङको दुईवटा दाँत हल्लिनुका साथै ओठमा चोट पुगेको छ । त्यसैगरी लामिछानेले महिला कर्मचारीलाई लछारपछार गर्दा तामाङको सरकारी पोसाकको बाहुलासमेत च्यातिएको छ ।

 

महिला कर्मचारीमाथि अदालत परिसरभित्रै हातपात भएपछि प्रहरीले लामिछानेलाई नियन्त्रणमा लिई ललितपुर प्रहरीको जिम्मा लगाएको छ । कुटपीटलगत्तै पीडित कर्मचारी प्रेमिका तामाङले जिल्ला प्रहरी परिसर ललितपुरमा कानुन व्यवसायीविरुद्ध जाहेरी दिएकी छिन् ।

 

स्रोतः रातो पाटी

प्रतिक्रिया दिनुहोस्