कार्गोरेल बाट ल्याइएका करोडौँ सामानहरू भिजेर नष्ट

नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेको कार्गोरेल विराटनगरको आइसीपीसम्म नआउँदा जोगबनीको रेल वे यार्डमा करोडौँ मूल्यका सामानहरू भिजेर नष्ट भएका छन ।

 

तीन दिनयताको वर्षाले जोगबनीको यार्ड जलमग्न भएका कारण नेपाल ल्याउन यार्डमा राखिएका सामानहरू भिजेर नष्ट भएका हुन । साल्ट ट्रेडिङ विराटनगरले आयात गरेको नुन १ हजार बोराभन्दा बढी भिजेको छ । त्यस्तै मोरङको प्रिमियर स्टिल र सुनसरीको स्वस्तिक रोलिङ मिल गरी दुई उद्योगले आयात गरेको स्पन्ज आइरन पनि १५–१५ सय बोराभन्दा बढी काम नलाग्ने भएको बताइएको छ ।

 

यार्डमा पानीको निकास हुने गरी नाला नबनाउदा समस्या भएको हो । प्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल र नरेन्द्र मोदीले यही जेठ १८ गते विराटनगरको आइसिपीमा रहेको कस्टम यार्डसम्म आइपुग्ने गरी कार्गो रेलको उदघाटन गरेका थिए । उदघाटनका दिन आरती स्ट्रिप्सको कच्चा पदार्थ एचआर सिट लिएर कार्गो रेल आइसीपीसम्म आइपुगेको थियो। त्यसपछि कार्गोरेल आइसिपीको यार्डसम्म आउन सकेको छैन ।

 

व्यवसायीले सीमापारी जोगबनीकै यार्डमा ¥याक मगाएर आयात गरिरहेका छन । रेल विभागले भने व्यवसायीहरू विराटनगरको आइसिपीस्थित यार्डसम्म कार्गो रेल ल्याउन इच्छा नदेखाएको जनाएको छ । आइसिपीको रेल वे यार्डबाट आयातनिर्यात सुचारु गर्न ५५ करोडको लगानीमा संरचना निर्माण भने जारी छ ।

प्रतिक्रिया दिनुहोस्