आज पनि शेयर बजार सामान्य वृद्धि भएको छ

साताको अन्तिम कारोबार दिन आज शेयर बजारसामान्य अंक बढेर बन्द भएको छ ।

कारोबारको अधिकांश समय नकारात्मक रहेको शेयर बजार मापक नेप्से अन्तिम समयमा भने बढेर थोरै बन्द भएको हो । आज कारोबारको साढे ३ घण्टासम्म नेप्से परिसूचक घटेको थियो । निरन्तर सात कारोबार दिन नेप्से बढेपछि लगानीकर्ताहरुले नाफा सुरक्षित गरेपछि नेप्सेमा करेक्सन भएको हो । आज नेप्से परिसूचक ५ अंक बढेर २०४२.०७ विन्दुमा पुगेको छ । नेप्से सामान्य अंक बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ५ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज २७० स्टकको ५२ हजार ८१४ पटकको कारोबारमा ३ अर्ब १६ करोड २८ लाख रुपैयाँ बराबरको ७८ लाख ९६ हजार कित्ता शेयर कारोबार भएको छ ।

 

आज सिटी होटलको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो होटलको शेयरमूल्य १६ रुपैयाँ २० पैसा बढेर १७८ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ । त्यसैगरी, अभियान लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने बिपिडब्लु लघुवित्त र कालिका लघुवित्तको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य आज सर्वाधिक ५.८६ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा आज पनि शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज १७ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

 

त्यसैगरी, सोल्टी होटलको १६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्सको करिब १५ करोडको शेयर खरिदबिक्री भएको छ । १३ उपसमूहमध्ये आज ६ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ७ उपसमूहको परिसूचक घटेको छ । आज होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ४.५६ प्रतिशत बढेको छ । त्यस्तै, जीवन बीमा उपसमूहको परिसूचक २.९२ प्रतिशत बढेको छ भने निर्जीवन बीमा उपसमूहको परिसूचक १.३६ प्रतिशत बढेको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.७४ प्रतिशत घटेको छ ।

प्रतिक्रिया दिनुहोस्