युक्रेनको बाँध ध्वस्त भएका कारण ५ लाख हेक्टरभन्दा बढी जमिन मरुभूमिमा परिणत

रुस नियन्त्रित दक्षिणी खेर्सन क्षेत्रको नोभा काखोभ्का बाँध ध्वस्त हुँदा दक्षिणी युक्रेनको ५ लाख हेक्टरभन्दा बढी जमिन मरुभूमिमा परिणत हुने चेतावनी युक्रेनी कृषि मन्त्रालयले दिएको छ ।

बाँध ध्वस्त भएका कारण युक्रेनको निप्रो, खेर्सन र जापोरोजिया क्षेत्रका ३१ सिँचाई प्रणालीमा पानी आपूर्ति अवरुद्ध हुने युक्रेनी कृषि मन्त्रालयले जनाएको हो । उक्त क्षेत्रमा ४० लाख टन खाद्यान्न तथा तेलहन बाली उत्पादन हुँदै आएको छ । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले बाँधको बाढीका कारण हजारौं मानिस खानेपानीबाट वञ्चित रहेको र निप्रो क्षेत्रमा ४२ हजार मानिस जोखिममा रहेको जनाएका छन् ।

उनले प्रभावित बासिन्दालाई खानेपानीको सेवा, मानवीय सहायता तथा दीर्घकालीन पुनर्वासका लागि आह्वान गरेका छन् । बाढीबाट १ सय वटा नगर र गाउँ डुबानमा परेका छन् । जेलेन्स्कीले बाँध भत्किएको घटनालाई ’वातावरणको आमविनाश’ को संज्ञा दिँदै यसले रुसी नियन्त्रणबाट आफ्नो भूमि फिर्ता लिने सैन्य योजना नरोकिने बताएका छन् । बाँध भत्किएपछि निप्रो नदी आसपास बस्तीका हजारौं बासिन्दालाई सुरक्षित स्थानमा सार्ने कार्य जारी छ भने ७ जना हराइरहेको रुससमर्थित मेयरले जनाएका छन् । यसैबीच, रुस र युक्रेन दुवैले बाँध ध्वस्त हुनुमा एक अर्कालाई दोष लगाएका छन् । यसै विषयलाई लिएर बसेको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकमा पनि दुवै देशले बाँध फुट्नका पछाडि एक अर्कालाई दोषारोपण गरेका छन् ।

अमेरिकाले भने कसको हात रहेको भन्ने सुनिश्चित नभएको बताएको छ ।।

 

प्रतिक्रिया दिनुहोस्