सन्दीप लामिछाने आईसीसी विश्वकप छनोटको तयारी गर्न आज दक्षिण अफ्रिका जाने भएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने आईसीसी विश्वकप छनोटको तयारी गर्न आज दक्षिण अफ्रिका जाने भएका छन् ।

नाबालिग बलात्कार मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेकाले सन्दीपले विश्वकप छनोट प्रतियोगिता खेल्ने नै अन्योल थियो । तर अदालतमा सन्दीपविरुद्धको बलात्कार आरोपको मुद्दाको पेसी आगामी असार २९ गतेसम्मलाई सरेपछि उनले दक्षिण अफ्रिकामा टिमसँगै अभ्यास गर्ने भएका हुन् । उनी आज बेलुकासम्म दक्षिण अफ्रिका जाने नेपाल क्रिकेट संघ ‘क्यान’ले जनाएको छ । क्यानले सन्दीपलाई दक्षिण अफ्रिका पठाउने तयारी गरिरहेको छ ।दक्षिण अफ्रिकामा नेपाली टिमले नेदरल्यान्ड्ससँगै स्कटल्यान्डसँग अभ्यास खेल खेल्नेछ । त्यसपछि विश्वकप छनोट खेल्न नेपाली टिम त्यहीँबाट सिधैँ जिम्वाब्वे प्रस्थान गर्नेछ । जुन १८ देखि जुलाई ९ तारिखसम्म हुने विश्वकप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ ।

यो समूहमा आयोजक राष्ट्र जिम्बाब्वेसँगै विश्वकप विजेता वेष्ट इन्डिज, अमेरिका र नेदरल्यान्ड रहेका छन् । त्यस्तै, समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, ओमान, स्कटल्यान्ड र यूएई रहेका छन् ।।

प्रतिक्रिया दिनुहोस्