भारतमा रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २ सय ८८ पुगेको छ ।

भारतमा शुक्रबार साँझ उडिसाको बालासोरमा तीनवटा रेल आपसमा ठोक्किएपछि भएको दुर्घटनामा मृत्यु हुनेको संख्या २ सय ८८ पुगेको छ ।

रेल दुर्घटनमा ८ सय तीन जना घाइते भएका छन । दुर्घटना भएको क्षेत्रमा रेलको लिक बनाउने कार्य धमाधम भइरहेको छ । भारतको केन्द्र सरकार र उडिसा राज्य सरकारले उद्धार कार्य लगभग सकिएको घोषणा गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा आवश्यक छानबिन गरेर दोषीमाथि कडा कारबाही गरिने बताएका छन । घटनास्थल अवलोकन गर्ने क्रममा शनिबार प्रधानमन्त्री मोदीले उक्त दृश्य दुखद र मार्मिक भएको जनाएका थिए । मोदीले अस्पतालमा उपचाररत घाइतेहरुको अवस्थाबारे जानकारीसमेत लिएका थिए ।

उपचारमा केही कमी नहुने आश्वासनसमेत दिएका छन । यसैविच अमेरिकी राष्ट्रपति जो बाइडनले भारतको दुर्घटनाले आफूलाई दुःखी बनाएको जनाएका छन् । ह्वाइट हाउसका तर्फबाट जारी विज्ञप्तिमा शोकको समयमा पूरै अमेरिकाका नागरिक भारतीयको साथमा रहेको उल्लेख छ । बालसोर जिल्लाको बहानगा बजार रेल्वे स्टेसननजिक तीनवटा रेल दुर्घटनामा परेका हुन । पहिले एउटा मालवाहक रेलमा पछाडिबाट यात्रुवाहक रेल ठोक्किएको थियो । यात्रुवाहक रेल कोरोमन्डल एक्सप्रेसको १२ वटा डिब्बा रेल्वे लिकबाट बाहिरिएर पल्टिएको थियो ।

त्यही बेला अर्को रेल्वे लाइनबाट बेंगलरुबाट आइरहेको अर्को रेल पहिला नै उछिटिएको रेलका डिब्बासँग ठोक्किन पुगेको थियो । सरकारले मृतक परिवारलाई १० लाख भारतीय रुपियाँ दिने घोषणा गरेको छ । त्यस्तै घाइतेहरूलाई २ लाख भारु दिने घोषणा गरिएको छ । दुर्घटनापछि त्यस रुटमा चल्ने दर्जनौं रेललाई स्थगित गरिएको छ । नेपाली दूतावासले दुर्घटनामा कोही नेपाली परेको बारे कुनै जानकारी प्राप्त नभइसकेको बताएको छ ।।

प्रतिक्रिया दिनुहोस्